झापा । नेपाल आयल निगम ले खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ। शनिबार जारी गरिएको विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन सार्वजनिक गरेको हो।

निगमका अनुसार हालको परिस्थितिमा आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गरी उपभोक्ताले मागअनुसार ग्यास पाउन सक्ने व्यवस्था गरिएको छ। त्यसका लागि आधा सिलिन्डरको व्यवस्था समेत गरिएको जनाइएको छ।

त्यसैगरी अर्को व्यवस्था नभएसम्म उद्योगहरूले सिलिन्डरमा ७.१ किलोग्राम ग्यास ५५५ रुपैयाँमा बजारमा उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

निगमले देशभरका ग्यास उद्योगलाई आफ्ना विक्रेताले दैनिक कति ग्यास बिक्री गर्छन्, विक्रेताको ठेगाना र सम्पर्क नम्बर सहितको विवरण प्रत्येक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन निर्देशन दिएको छ। उक्त विवरण उपभोक्तालाई पनि उपलब्ध गराउन भनिएको छ।

0555555

हाललाई घरायसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न उद्योगहरूलाई आग्रह गरिएको छ।

मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यासको विश्वव्यापी आपूर्तिमा असर परे पनि नेपालमा नियमित रूपमा आपूर्ति तथा बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पुनः अनुरोध गरेको छ।