कविता लेखक – गिताराम आर्चाय
पर्खिरहेको सडक
तँ भत्किस कुरुप भइस
देख्यो यहाँ कसले
आफ्नो छातीमा आगो बालेर
शितल तपाइस र
सत्ताको स्वाद चकाईस
देख्यो यहाँ कसले।
तेरो नाम जोडेर
राजनीतिको खोल ओढेर
कतिको चुलो बाल्दिस
कतिको जीवन फेरदिस
षड्यन्त्रको निसानामा
दुर्घटनाको बहानामा
कतिको जीवन सक्दिस
तर कसैले देखेन
तेरो छातिमा ढुङ्गा खसेको
बम र बारुद बर्सिएको
टायर र मिसायलको
मुस्लो ले तेरो मुहार जलाएको
न देख्यो युवाको रगतको आल जमेको
न देख्यो निर्दोश लासमाथि राजनीति घुमेको
देख्यो त आफ्नै स्वार्थ
अनि देख्यो सत्ता पुग्ने मार्ग।
ए सडक
मान्छे हुन्छ कहाँ तँ जस्तो निस्वार्थ
रत आज पनि तेरै छातीमा टेकेर
लागिरहेछ जीन्दवाद र मुर्दावादको नारा
पर्खी
एक युग आउला
जहाँ विवेक छाउला
सुशासनको छाल आउला
सडकमा होईन
विरोध र माग दुवै सदनमा आउला
अनि बर्षौ देखिको तेरो कुरुप पनमा
केही सुन्दरता छाउला
सयौ वसन्त यसरी नै बिते
पर्खि नयाँ विहानी सँगै
तेरो नि सुन्दरता आउला।
तँ सँगै दुखेका नेपालीका मनमा
वसन्तको सुगन्ध आउला।














