काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीको सहभागितामा परीक्षा सञ्चालन गरेको हो।

पहिलो दिन आज देशभरका परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन्।

यस वर्षको परीक्षामा छात्रको तुलनामा छात्राको संख्या बढी देखिएको छ। कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य रहेका छन्।

नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी चुनावी मैदानमा छन्। नेपाल बाहिर जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना परीक्षार्थीले यो वर्षको एसईई दिइरहेका छन्।

बोर्डले यस पटकको परीक्षा र उत्तरपुस्तिका परीक्षण प्रणालीमा ठूलो परिवर्तन गरेको छ। 'माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२' जारी गर्दै बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

नतिजा प्रकाशनलाई छिटो र छरितो बनाउन सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरी 'मार्कस्लिप' ट्याबमा चढाएर सिलबन्दी खाममा तीन दिनभित्र शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने प्रावधान राखिएको छ।

परीक्षण प्रक्रियालाई थप मर्यादित बनाउन परीक्षक र संपरीक्षकहरूले परीक्षण कक्षमा मोबाइल वा कुनै पनि विद्युतीय उपकरण लैजान नपाउने नियम बनाइएको छ।

परीक्षण केन्द्रहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने परीक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने गरी कार्यविधि तय गरिएको छ।

परीक्षणमा लापर्बाही गर्ने शिक्षकहरूलाई पारिश्रमिक कट्टा गर्नेदेखि सूचीबाट नाम हटाउनेसम्मको कारबाही गर्ने चेतावनी बोर्डले दिएको छ।

परीक्षाको सुरक्षाका लागि देशभरका केन्द्रहरूमा १५ जना प्रहरीका दरले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रत्येक केन्द्रमा एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक र १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगीको व्यवस्था गरिएको छ।

आज अंग्रेजीको परीक्षा सम्पन्न भएपछि भोलि चैत २० गते नेपाली, २२ गते गणित र २३ गते विज्ञान विषयको परीक्षा हुनेछ। साधारण धारतर्फको परीक्षा चैत २६ गते सकिनेछ भने प्राविधिक धारका बाँकी विषयहरू चैत २९ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।