झापा, बिर्तामोड — झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले आगामी वैशाख ७ गतेदेखि दुई सातासम्म सञ्चालन हुने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

वैशाख २१ गतेसम्म चल्ने उक्त शिविर बालबालिकामा देखिने स्वास्थ्य समस्याहरूको समयमै पहिचान, उपचार तथा अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा शिविरमार्फत बालबालिकाको समग्र स्वास्थ्य परीक्षणलाई सहज र सर्वसुलभ बनाउने लक्ष्य राखिएको जानकारी दिइयो।

5888888888

 जनहितमा जारी

शिविरमा नवजात तथा बालरोग विशेषज्ञ डा. रूपक आचार्यको नेतृत्वमा अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ।

बालबालिकामा सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्याको परीक्षण र परामर्श एकै स्थानबाट उपलब्ध गराइनेछ।

अस्पताल सञ्चालक समिति अध्यक्ष लीला मैनालीले बाल स्वास्थ्यप्रति अभिभावकको सचेतना अझै पर्याप्त नभएको उल्लेख गर्दै यस्तो शिविरले समुदायस्तरमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

“बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अभिभावकलाई सचेत बनाउनु हाम्रो दायित्व हो,” उनले भनिन्, “गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले हामीले यो अभियान थालेका हौं।”

056666

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यका अनुसार शिविर अवधिभर ओपिडी सेवा पूर्ण रूपमा निःशुल्क रहनेछ भने ल्याब परीक्षणलगायत अन्य सेवामा २० प्रतिशत छुट प्रदान गरिनेछ। साथै, विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीहरूलाई स्थानीय तहको सिफारिसका आधारमा थप सहुलियत दिइने व्यवस्था मिलाइएको छ।

124578

शिविर अवधिभर औषधिमा पनि विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिइन्।

उनका अनुसार अस्पतालले स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी आवश्यकता अनुसार अन्य स्थानमा समेत यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ।

यसबाट विशेषगरी आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित बालबालिकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

अस्पतालले सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्य परीक्षणका लागि शिविरमा सहभागी गराउन आग्रह गरेको छ। बालबालिकाको स्वास्थ्यप्रति सदैव सजग रहेको अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्दै अझ गुणस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

022222222

यसै क्रममा अस्पतालले निकट भविष्यमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। साथै, झापाली सञ्चारकर्मीका बालबालिकाहरू अस्पतालमा भर्ना भएर उपचार गराउँदा २० प्रतिशत छुट दिने व्यवस्था समेत गरिएको जानकारी दिइयो।

हाल अस्पतालले अत्याधुनिक जापानी प्रविधिका उपकरणसहित इको र इसीजी सेवा प्रदान गर्दै २४ सै घण्टा सेवा प्रवाह गरिरहेको छ।

विशेषज्ञ चिकित्सक तथा अनुभवी नर्सिङ स्टाफमार्फत गुणस्तरीय सेवा दिइरहेको अस्पतालका प्रवन्ध निर्देशक डा. रूपक आचार्यले बताए।

पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार सदस्य मदनगोपाल सुब्बाले पनि शिविरको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सहजिकरण अस्पतालकी नर्सिङ इञ्चार्ज गोमा सिटौलाले गरेकी थिइन्।