बिर्तामोड । झापाको बिर्तामोड–७ स्थित कञ्चन इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अन्तर हाउस अतिरिक्त प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा विभिन्न विधामा सञ्चालन गरिएको प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

अध्ययन–अध्यापनसँगै विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान, सिर्जनात्मक क्षमता विकास तथा नेतृत्व कौशल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंले बताउनुभयो।

4988fd6a-1a31-471a-bc5c-9646fa39479b
प्रधानाध्यापक चम्लागाईंका अनुसार विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित गराउन विद्यालयले अतिरिक्त तथा प्रयोगात्मक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।

विद्यार्थीमैत्री पठन संस्कृतिको विकाससँगै उनीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावना जागृत गराउने उद्देश्यले अन्तर हाउस अतिरिक्त प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका फाउन्डर दिलीराम चम्लागाईं तथा शिक्षक सागर कोइरालाले गर्नुभएको थियो।
7d29563b-c7b6-4029-a692-e540ff874922
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी विजयी भएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कारसमेत वितरण गरिएको विद्यालयका फाउन्डर बद्री बाँस्कोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा पहिचान गर्नाका साथै उनीहरूलाई आगामी दिनमा अझ उत्साहित भएर आफ्ना क्षमता प्रस्तुत गर्न प्रेरणा प्रदान गर्नेछ।

कञ्चन इङ्लिस बोर्डिङ स्कुलमा हाल ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सुन्दर, शान्त र अध्ययनका लागि अनुकूल वातावरणमा पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीको चौतर्फी विकासलाई आफ्नो प्राथमिकतामा राखेको छ।
विद्यालयले नियमित शैक्षिक गतिविधिसँगै विद्यार्थीको व्यावहारिक ज्ञान, सिर्जनशीलता, आत्मविश्वास तथा जीवनोपयोगी सीप विकासका लागि विभिन्न सिर्जनशील, प्रयोगात्मक तथा जीवनोपयोगी कक्षाहरू सञ्चालन गर्दै आएको जनाएको छ।

6339884b-c7c8-4b9f-9554-95ed55414410
विद्यालयका अनुसार शैक्षिक गुणस्तरसँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यवहारिक दक्षतालाई समान रूपमा अघि बढाउने उद्देश्यले यस्ता गतिविधिलाई निरन्तरता दिइँदै आएको छ।

अन्तर हाउस अतिरिक्त प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उनीहरूमा सहकार्य, अनुशासन, नेतृत्व र आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यालयको भनाइ छ।