बिर्तामोड । वरिष्ठ तथा लोकप्रिय मूर्तिकार हिम्मत नेम्बाङले मूर्तिकलाका माध्यमबाट पर्यटकीय गन्तव्यलाई मौलिक पहिचान र आकर्षण प्रदान गर्न सकिने बताउनुभएको छ।
ढुंगालाई कुँदेर विभिन्न आकृतिमा जीवन्तता भर्दै नेपाली कला र हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल नेम्बाङले पर्यटन प्रवर्द्धनमा मूर्तिकलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।
साहित्य चौतारी झापा तथा होटल हिकोला हेरिटेज प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा ‘पर्यटन प्रवर्द्धनमा मूर्तिकलाको महत्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेम्बाङले पर्यटन र कलालाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार मानिसको स्वभाव नै नयाँ ठाउँ हेर्ने, नयाँ संस्कृति बुझ्ने र नयाँ ज्ञान हासिल गर्ने भएकाले प्राचीनकालदेखि नै मानिसहरू तीर्थयात्रा, व्यापार, अध्ययन, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका छन्।
आधुनिक समयमा भने पर्यटन व्यवस्थित आर्थिक तथा सामाजिक गतिविधिका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो। यातायातको विकास, फुर्सदको समयको वृद्धि तथा विश्वव्यापी सम्पर्क विस्तारसँगै पर्यटनले व्यापक रूप लिएको उल्लेख गर्दै नेम्बाङले पर्यटन अब केवल घुमफिरको विषय नभई अर्थतन्त्र, रोजगारी, संस्कृति, कला, सम्पदा, वातावरण र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र बनिसकेको धारणा राख्नुभयो।
नेम्बाङका अनुसार कुनै ऐतिहासिक व्यक्ति, स्थानीय नायक, सांस्कृतिक पात्र, जनजातीय पहिचान, धार्मिक प्रतीक, स्थानीय जीवजन्तु वा प्राकृतिक विशेषतालाई कलात्मक मूर्तिका रूपमा सार्वजनिक स्थानमा स्थापित गर्न सकिन्छ। यस्ता मौलिक मूर्तिहरूले पर्यटकीय गन्तव्यलाई छुट्टै पहिचान दिनुका साथै पर्यटकका लागि नयाँ आकर्षणसमेत सिर्जना गर्ने उहाँको भनाइ छ।
विश्वका विभिन्न पर्यटकीय सहरहरूमा सार्वजनिक मूर्तिहरू आफैंमा पर्यटकीय आकर्षणका केन्द्र बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले पर्यटकहरूले त्यस्ता मूर्तिसँग तस्बिर खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यसैमार्फत स्थानको प्रचारप्रसार गर्ने बताउनुभयो। नेपालका पर्यटकीय गन्तव्यमा पनि स्थानीय कथा, इतिहास, संस्कृति र प्रकृतिसँग जोडिएका मौलिक मूर्तिकलाको निर्माण गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो।
झापाको पर्यटन सम्भावनाबारे चर्चा गर्दै नेम्बाङले झापा केवल तराईको समथर भूभाग मात्र नभई प्राकृतिक सौन्दर्य, नदी, वन, धार्मिकस्थल, सांस्कृतिक विविधता तथा ऐतिहासिक महत्वका दृष्टिले समेत समृद्ध जिल्ला भएको बताउनुभयो। कन्काई नदी, दोमुखा, अर्जुनधारा, सतासीधाम, किचकबध, जामुनखाडी सिमसार, सालबारी सिमसार, केचनाकवल, सहिद स्मारक, सुखानी पार्क, कैलाशेश्वर महादेवको विशाल प्रतिमा, धनुषकोटी धाम, बर्ने चिया कमान तथा विभिन्न सामुदायिक वनहरू झापाका महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी निर्माणाधीन आधुनिक कला संग्रहालय, सुरुङ्गाको कोच–राजवंशी संग्रहालय, जगत पाण्डे दरबार स्क्वायर, कन्काई–२ को वैद्यशाला तथा सेलिङटारलगायतका क्षेत्रलाई समेत सम्भावित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ।
तर झापामा रहेका यी पर्यटकीय सम्भावनालाई पर्यटकको अनुभवसँग जोडेर प्रस्तुत गर्न अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको नेम्बाङले बताउनुभयो। विशेषगरी कन्काई नदीको किनारमा नदी, प्रकृति र स्थानीय जीवनसँग सम्बन्धित कथा बोकेका मौलिक मूर्तिकलाहरू निर्माण गरी पर्यटकीय आकर्षण थप्न सकिने उहाँको धारणा छ।
लामो समयदेखि मूर्तिकला तथा हस्तकलाका माध्यमबाट नेपाली समाजलाई प्रेरणा र सन्देश प्रवाह गर्दै आउनुभएका नेम्बाङ आफ्ना सिर्जनात्मक क्षमता, अद्भुत परिकल्पना र निरन्तर साधनाका कारण नेपाली मूर्तिकलाको क्षेत्रमा स्थापित नाम हुनुहुन्छ। ढुंगालाई कुटेर, कुँदेर र विभिन्न आकृतिमा रूपान्तरण गर्दै उहाँले आफ्नो प्रतिभालाई देश तथा विदेशका विभिन्न बजारसम्म पुर्याउनुभएको छ।
पर्यटन प्रवर्द्धनका लागि सरकारको भूमिका महत्वपूर्ण हुने बताउँदै नेम्बाङले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले पर्यटन पूर्वाधार विकाससँगै कला र मूर्तिकलालाई पनि पर्यटन योजनाभित्र समेट्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पर्यटकीय स्थलमा सार्वजनिक मूर्तिकलाको स्थापना गर्ने नीति बनाउनुपर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्न मूर्तिकला पार्क तथा कला गाउँ निर्माण गर्नुपर्ने र स्थानीय इतिहास तथा संस्कृतिमा आधारित कलाकृति निर्माणमा सरकारले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो।
त्यस्तै कलाकार, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै उहाँले पर्यटकीय स्थलमा निर्माण गरिएका कलाकृतिको संरक्षण र सुरक्षाको उचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। यसरी कला, स्थानीय पहिचान र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउन सके मूर्तिकलाका माध्यमबाट पनि पर्यटक आकर्षित गर्दै स्थानीय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउन सकिने उहाँको निष्कर्ष छ।














