बिर्तामोड,भरत प्रसाई झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले भदौ महिनाभर विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको घोषणा गरेको छ।

अस्पतालले २०८३ भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न विभागअन्तर्गत निःशुल्क ओपीडी परामर्श तथा उपचार सेवामा विशेष छुटको व्यवस्था गरेको हो। अस्पतालका अनुसार जनरल सर्जरी, युरोसर्जरी, न्युरोसर्जरी, बालरोग तथा स्त्री तथा प्रसूति रोग विभागका सेवाग्राहीले उक्त योजनाबाट लाभ लिन सक्नेछन्।

विशेषगरी स्त्री तथा प्रसूति रोग विभाग अन्तर्गत निःशुल्क ओपीडी परामर्श, सामान्य प्रसूति तथा सिजेरियन सेक्शन (CS) को अपरेशन थिएटर शुल्कमा ५० प्रतिशत छुट र स्त्रीरोगसम्बन्धी शल्यक्रियाको OT शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।

त्यस्तै, बालरोग विभागमा निःशुल्क ओपीडी परामर्श तथा जनरल बेड शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ। जनरल सर्जरी, युरोसर्जरी तथा न्युरोसर्जरी विभागमा पनि निःशुल्क ओपीडी परामर्शसँगै OT शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

 जनहितमा जारी

अस्पतालका अनुसार विशेष छुट योजना ल्याउनुको मुख्य उद्देश्य उपचारका क्रममा बिरामी तथा परिवारमा पर्ने आर्थिक भार केही हदसम्म कम गर्नुका साथै आवश्यक स्वास्थ्य सेवा समयमै लिन प्रोत्साहित गर्नु हो।

अस्पतालले स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुग्नुपर्ने मान्यताअनुसार विशेष योजना ल्याइएको जनाएको छ। अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रोमिश गिरीले बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले भदौ महिनाका लागि विशेष सुविधा ल्याइएको बताए।

बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलमा स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल सर्जरीलगायत विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा छन्।

अस्पतालको आधिकारिक विवरणअनुसार ओपीडी सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुन्छ भने आकस्मिक सेवा २४ घण्टा उपलब्ध रहेको छ।

अस्पतालले भदौ ३१ गतेसम्म लागू हुने विशेष छुट योजनाबाट सम्बन्धित विभागका बिरामी तथा सेवाग्राहीलाई अधिकतम लाभ लिन आग्रह गरेको छ। विशेषगरी आर्थिक कारणले उपचारमा ढिलाइ गर्नुपर्ने अवस्थाका बिरामीका लागि यस्तो सहुलियतले स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालका सेवाग्राहीलाई लक्षित गर्दै विभिन्न विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।