मेचीनगर–१३, चारालीस्थित त्रिदेव बहुमुखी क्याम्पसको आयोजनामा धुलाबारीमा ‘शिक्षण सिकाइमा एआईको प्रयोग: अवसर र चुनौती’ विषयक एक दिवसीय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थी गरी करिब १२० जनाको उत्साहजनक सहभागिता रहेको थियो।


 जनहितमा जारी

02

कार्यक्रमका सहजकर्ता तथा विषयविज्ञ उमाकान्त खनालले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे व्यावहारिक जानकारी गराउनुभयो।

साथै, एआईको प्रयोग गर्दा ध्यानदिनुपर्ने सतर्कता र सामाजिक सञ्जालमा सूचना तथा जानकारी कतिसम्म सार्वजनिक गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई प्रस्ट पार्नुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सन्तोष न्यौपानेले क्याम्पसले समय-समयमा आयोजना गर्ने यस्ता सामाजिक एवम् प्रविधिमैत्री गतिविधिबाट १०० भन्दा बढी विद्यार्थी प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि एवम् विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंले त्रिदेव क्याम्पसले विगतदेखि नै शैक्षिक र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

012566666

क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्याम्पस प्रमुख भट्टराई स्वयंले राख्नुभएको थियो।

कार्यक्रममा प्रशिक्षक उमाकान्त खनाल तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष ईश्वर रिजाललगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आधुनिक शिक्षामा प्रविधिको महत्त्वबारे चर्चा गर्नुभएको थियो  ।