झापा ।

उत्तरी सीमावर्ती जिल्ला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको घाउमा मलम पट्टी लगाउन झापाका व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको राहत अभियानको पहिलो दिनमै ६ लाख ५६ हजार ९३२ रुपैयाँ सहयोग रकम संकलन भएको छ।

IMG_0883

 जनहितमा जारी

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

संकटको यस घडीमा पीडितहरूलाई मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले संघले शनिबार आफ्नै सभाहलमा विशेष छलफल कार्यक्रमको आयोजना गरेको हो।


IMG_0878 1संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा स्थानीय उद्योगी-व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा सहयोग घोषणा गरेका थिए। अभियानको सुरुआतमै आर.ए. थापा इन्टरप्राइजेजका सञ्चालक एवम् संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापाले व्यक्तिगत रूपमा ५ लाख १ हजार १२१ रुपैयाँ सहयोगको घोषणा गर्दै उदाहरणीय योगदान पुर्‍याएका छन्।

प्राकृतिक विपत्तिका बेला बिर्तामोडका व्यवसायीहरू सधैं अग्रपंक्तिमा उभिने परम्परालाई दोहोर्‍याउँदै अध्यक्ष न्यौपानेले भने, "रसुवामा भएको क्षति हाम्रै दाजुभाइको पीडा हो। संघको तर्फबाट एकीकृतरूपमा व्यवस्थित राहत पुर्‍याउन अभियान थालेका छौं।

यस महान् कार्यमा नगरका सम्पूर्ण व्यापारी, उद्योगी तथा शुभेच्छुकहरूलाई उदार मनले सहयोग गर्न आह्वान गर्दछु।"

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सहभागीहरूले पीडितको पुनर्गठन र पुनस्थापनाका लागि संघले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन्।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको उक्त छलफल कार्यक्रमसँगै राहत संकलन अभियानलाई केही दिन निरन्तरता दिइने र संकलित रकम एवम् राहत सामग्री छिट्टै प्रभावित क्षेत्रमा पठाइने संघले जनाएको छ।