मिरिक । नेपाली साहित्यको गजल विधालाई केन्द्रमा राखेर भारतको मिरिकमा पहिलोपटक विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम ‘महफिल गजल’ आयोजना हुने भएको छ। गजल वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिने उक्त कार्यक्रम आगामी २० सेप्टेम्बर २०२६ आइतबार मिरिकको कृष्णनगरस्थित जगजीत होटलको प्रेक्षागृहमा आयोजना हुन लागेको हो।


दार्जीलिङ जर्नल पब्लिकेशनको तत्त्वावधानमा आयोजना हुने कार्यक्रममा पूर्वी नेपालका परिचित कवि, गजलकार तथा सञ्चारकर्मी लीला अनमोलको एकल गजल वाचन तथा खर्साङका गायक, संगीतकार, संगीत संयोजक एवं म्युजिक मेलोडी खर्साङका निर्देशक महेश्वर लामाको एकल गजल गायन प्रस्तुति रहने आयोजकले जनाएको छ।

दार्जीलिङ जर्नल पब्लिकेशनको तत्त्वावधानमा आयोजना हुने कार्यक्रममा पूर्वी नेपालका परिचित कवि, गजलकार तथा सञ्चारकर्मी लीला अनमोलको एकल गजल वाचन तथा खर्साङका गायक, संगीतकार, संगीत संयोजक एवं म्युजिक मेलोडी खर्साङका निर्देशक महेश्वर लामाको एकल गजल गायन प्रस्तुति रहने आयोजकले जनाएको छ।

 जनहितमा जारी


कार्यक्रममा गजलका दुई फरक आयाम—वाचन र गायन—लाई एउटै मञ्चमा प्रस्तुत गर्ने तयारी गरिएको छ। साहित्यमा गजलको विकास, यसको मौलिकता र नेपाली समाजमा गजलले बोकेको भावनात्मक पक्षलाई प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिको भनाइ छ।


मिरिकमा यसअघि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम हुँदै आए पनि गजल विधामै केन्द्रित भएर वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको आयोजक समितिले दाबी गरेको छ। यही विशिष्टताका कारण कार्यक्रमको नाम ‘महफिल गजल’ राखिएको जनाइएको छ।


कार्यक्रममा नेपालका साथै दार्जीलिङ, खर्साङ, सिलिगुडी तथा मिरिक र आसपासका क्षेत्रबाट साहित्य तथा संगीतप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाली भाषाको साहित्यिक सिर्जनामा गजलको प्रभाव, यसको प्रस्तुति शैली र गायन पक्षलाई नजिकबाट अनुभव गर्ने अवसरकारूपमा कार्यक्रमलाई लिइएको छ।


आयोजकका अनुसार पछिल्लो समय गजल लेखन र गायनप्रति नयाँ पुस्तासहित साहित्य तथा संगीत अनुरागीहरूको आकर्षण बढिरहेको अवस्थामा ‘महफिल गजल’ले गजलप्रतिको रुचिलाई थप विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमले नेपाल र भारतको नेपालीभाषी साहित्यिक तथा सांगीतिक समुदायबीचको सम्बन्धलाई समेत थप सुदृढ बनाउने विश्वास आयोजकको छ।


२० सेप्टेम्बरमा दिउँसो १ः३० बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी भई ‘महफिल गजल’को रसास्वादन गर्न आयोजक समितिले मिरिकलगायत नेपाल, दार्जीलिङ, खर्साङ र सिलिगुडी क्षेत्रका साहित्य तथा संगीत अनुरागीहरूलाई आग्रह गरेको छ।

साथै कार्यक्रम सफल बनाउन सबैको माया, साथ र सहयोगका लागि आयोजकले अपिलसमेत गरेको छ।