बिर्तामोड । रसुवाको भोटेकोशी आसपास भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नेपालीहरूप्रति साहित्य चौतारी झापा परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बाढीपीडित तथा घाइतेको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बाढीका कारण रसुवाको भोटेकोशी आसपासमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले सर्वसाधारणको ज्यान लिनुका साथै घर, सडक, पुल, व्यापारिक संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको अवस्थामा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले साहित्य चौतारीले आफ्नो क्षमताअनुसार सहयोग गर्ने निर्णय गरेको हो।
साहित्य चौतारीको विस्तारित बैठक २०८३ साल भदौ १४ गते आइतबार सम्पन्न भएको थियो। बैठकको सुरुवात बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनबाट गरिएको थियो।
त्यसपछि मृतकहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।
बैठकका क्रममा साहित्य चौतारी, हिकोला एन्ड कम्पनी, मित्र मेला, गुरुको संगीत विद्यालय तथा नेपाल फिल्म सोसाइटीको तर्फबाट भोटेकोशी बाढीपीडितका लागि ३२ हजार ७ सय ६५ रुपैयाँ आर्थिक सहयोग घोषणा गरिएको छ।
उक्त रकम हिकोला एन्ड कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक एवं साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले सार्वजनिक गर्नुभएको हो।
त्यस्तै, बैठकमै विभिन्न पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूबाट थप नगद सहयोग संकलन गरिएको छ। साहित्य चौतारीका उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्वाङबाट एक हजार, सल्लाहकार हरिनारायण भट्टराईबाट एक हजार, सल्लाहकार अनिरुद्र ओलीबाट एक हजार, सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाबाट एक हजार, स्टुडियो नौमती बाजा समूहको तर्फबाटएक हजार, भवानीप्रसाद गौतमबाट पाँच सय, जमुना खरेलबाट पाँच सय, भवानी क्षेत्रीबाट पाँच सय, एनबी दाहालबाट तीन सय र मिना अधिकारीबाट एक सय रुपैयाँ गरी ६ हजार ९ सय रुपैयाँ नगद संकलन भएको जनाइएको छ।
व्यक्तिगत तथा समूहगत रूपमा संकलित नगद सहयोग जम्मा रु. ६,९०० रहेको छ। यससँगै संस्थागत रूपमा घोषणा गरिएको रु. ३२,७६५ समेत जोड्दा कुल सहयोग रकम रु. ३९,६६५ पुगेको देखिन्छ .
साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्राकृतिक विपत्तिले राष्ट्र र समाजलाई गम्भीर पीडामा पारेको बताउँदै यस्तो अवस्थामा सामाजिक संस्थाहरूले आफ्नो दायित्वबाट पछि हट्न नहुने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “यस्तो संवेदनशील अवस्थामा हामी केवल दुःख व्यक्त गरेर बसिरहनु हुँदैन। हाम्रो सामर्थ्यले भ्याएसम्म तन, मन, धन, लत्ताकपडा, खाद्यान्न, औषधि र आवश्यक सामग्री जे सकिन्छ, त्यही माध्यमबाट पीडितको सहयोगमा जुट्न आवश्यक छ।”
अध्यक्ष श्रेष्ठले गत वर्ष भदौ २३ गतेदेखि प्रारम्भ भएको आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको पीडा नेपाली समाजले अझै पूर्ण रूपमा बिर्सन नसक्दै अर्को प्राकृतिक विपत्तिले थप पीडा दिएको बताउनुभयो।
“गत वर्षको मानवीय र भौतिक क्षतिको पीडा बिर्सन नपाउँदै प्राकृतिक विपत्तिले फेरि नेपाली समाज र राष्ट्रलाई शोकमा डुबाएको छ। शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, अपूरणीय क्षति सहन सक्ने आत्मबल प्राप्त होस् र घाइते तथा उपचाररत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभ होस्,” उहाँले भन्नुभयो।
अध्यक्ष श्रेष्ठले राष्ट्र र समाज शोकमा रहेका बेला साहित्य चौतारी, बिर्तामोड झापा परिवार, नेपाल फिल्म सोसाइटी कोशी प्रदेश परिवार, मित्र मेला तथा गुरुको संगीत विद्यालय परिवारलगायत सम्बद्ध संस्थाहरूले आगामी असोज १० गतेसम्म उत्सवमूलक कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो।
साहित्य चौतारीको प्रेक्षालयमा समेत यस अवधिमा उत्सवमूलक कार्यक्रम सञ्चालन नगरिने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले जनैपूर्णिमा, तीज, लाखे नाच तथा विभिन्न जातीय, सांस्कृतिक, धार्मिक र परम्परागत पर्वहरू क्रमशः आइरहेको भए पनि वर्तमान परिस्थितिमा मानवीय संवेदनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
“हामी हाम्रा संस्कृति, परम्परा र पर्वहरूको पूर्ण सम्मान गर्छौं। तर आज हाम्रो स्पष्ट मान्यता छ—सबै पर्वभन्दा ठूलो मानवीय संवेदना हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
उहाँका अनुसार विभिन्न संघसंस्था तथा समुदायबाट कार्यक्रमका लागि निमन्त्रणा आइरहे पनि वर्तमान अवस्थामा त्यस्ता कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी सम्बन्धित आयोजकहरूलाई सम्मानपूर्वक गराइएको छ।
“हामीलाई विभिन्न कार्यक्रमका निम्ताहरू आइरहेका छन्। निमन्त्रणा गर्ने सबै संस्था तथा आयोजकप्रति हार्दिक धन्यवाद र सम्मान छ। उहाँहरूको संस्कृति, कार्यक्रम र भावनाको हामी कदर गर्छौं। तर राष्ट्र र समाज पीडामा रहेको वर्तमान अवस्थामा मानवीय संवेदनालाई केन्द्रमा राख्दै कुनै पनि उत्सवका कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
श्रेष्ठले साहित्य चौतारीको निर्णयलाई केवल संस्थागत निर्णयका रूपमा नभई सामाजिक उत्तरदायित्व र मानवीय दायित्वको एउटा उदाहरणका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा सक्रिय संस्थाहरूले विपद्का बेला सिर्जना र उत्सवसँगै समाजप्रतिको आफ्नो जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले पर्व तथा सांस्कृतिक गतिविधि स्थगित गर्नु संस्कृतिको विरोध नभएको स्पष्ट पार्दै पीडित नागरिकको दुःखमा साथ दिनु नै अहिलेको प्राथमिकता भएको बताउनुभयो।
साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा संगीत विधाकी उपाध्यक्ष शान्त पौडेल, सचिव तुलसीप्रसाद निरौला, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्य एनबी दाहाल, सदस्य नवीन, सदस्य जमुना खरेल, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्य अनिरुद्र ओली, सल्लाहकार सदस्य हरिनारायण भट्टराई, सल्लाहकार सदस्य भवानी क्षेत्री, प्रेस सल्लाहकार भरत प्रसाई, कानुनी सल्लाहकार कृष्णप्रसाद पौडेललगायत कार्यसमिति तथा संस्थासँग आबद्ध सदस्यहरूको उपस्थिति रहेको थियो।
।
यस सहयोगलाई साहित्य चौतारीले प्राकृतिक विपद्का बेला निर्वाह गरेको सामाजिक तथा मानवीय उत्तरदायित्वका रूपमा लिएको जनाएको छ।
बैठकले रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
साथै घाइते तथा विपद्बबाट प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवाला पक्षलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरेको छ।














