बिर्तामोड (झापा)
भोटेकोशी र त्रिशूली नदीमा हालै आएको विनाशकारी गेग्रानसहितको बाढीपीडितको सहयोगार्थ झापाको बिर्तामोड–७ विरानस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कुलले रु. ३० हजार १ सय ३५ आर्थिक सहायता प्रदान गरेको छ।
विद्यालयले सङ्कलित उक्त रकम पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषको आधिकारिक QR मार्फत जम्मा गरेको हो।
विद्यालय परिसरमा मंगलबार साँझ करिब ७ बजे आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरियो।
कञ्चन बाल क्लबको अगुवाइमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूबाट रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा प्रधानाध्यापक दीपक चम्लागाईंले किताबी ज्ञानसँगै विद्यार्थीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भाव जगाउन यो पहल गरिएको बताउनुभयो। कार्यक्रमको समापनमा शिक्षक लोकबहादुर लिम्बुले श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुभएको थियो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा केन्द्रबिन्दु भई आएको उक्त बाढीका कारण हालसम्म १,०५० जनाको मृत्यु भइसकेको छ भने ३,९१६ जना अझै बेपत्ता छन्।
२०६४ सालमा स्थापित यस विद्यालयमा हाल ६ सय २० जना विद्यार्थी अध्ययनरत छन् भने ४५ जना शिक्षक-कर्मचारी कार्यरत छन्।














