झापा ।

देशभर बाढीपहिरो र प्राकृतिक विपत्तिले नागरिकहरू प्रताडित बनिरहेका बेला सामाजिक संस्था ‘मेचीमहाकाली बुहारी संयुक्त आवाज’ (मेम्सा नेपाल) ले आफ्नो वार्षिकोत्सवलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने भएको छ।

संस्थाले आगामी भदौ १९ गते पर्न गइरहेको वार्षिकोत्सवमा औपचारिक तडकभडक, महँगा उत्सव तथा केक काट्ने जस्ता फजुल खर्च पूर्ण रूपमा स्थगन गर्दै सो रकम विपद्मा परेका नागरिकका लागि सहयोग गर्ने निर्णय गरेको हो।

मेचीदेखि महाकालीसम्मका बुहारीहरूलाई संगठित गर्दै महिला सशक्तिकरण, हकअधिकार रक्षा र सामाजिक रूपान्तरणमा क्रियाशील यो संस्थाले यसपटक समाजप्रतिको आफ्नो गहिरो दायित्व निर्वाह गरेको छ।

 जनहितमा जारी

संस्थाको केन्द्रीय कार्यसमिति, संस्थापक अध्यक्ष, कोशी प्रदेश समिति, झापा जिल्ला समिति तथा दमक उपशाखाको संयुक्त पहलमा वार्षिकोत्सवका लागि छुट्याइएको रकमबाट बचत भएको रु. ४० हजार ५०५ (चालीस हजार पाँच सय पाँच) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

"आफ्नो खुसीमा हुने फजुल खर्चलाई कटौती गरी पीडितको आँसु पुछ्न प्रयोग गरौँ" भन्ने मूल भाव र मानवीय सन्देशका साथ यस वर्षको वार्षिकोत्सवलाई पूर्ण रूपमा विपद् व्यवस्थापन र राहत कार्यमा समर्पित गरिएको संस्थाले जनाएको छ।

2a5eda05-ac35-4bac-aab7-2e64b6057536

पूर्वदेखि पश्चिम महाकालीसम्मका महिलाहरूको साझा आवाज बनेको मेम्सा नेपालले संकटको यो घडीमा औपचारिक रमाइलोभन्दा समस्यामा परेका देशवासीको घाउमा मलम लगाउनु नै वास्तविक उत्सव भएको स्पष्ट पारेको छ।

वार्षिकोत्सव केवल खुसी मनाउने वा रमाइलो गर्ने माध्यम मात्र नभई समाजप्रतिको उत्तरदायित्व सम्झिने अवसर पनि हो भन्ने स्पष्ट उदाहरण मेम्सा नेपालले प्रस्तुत गरेको छ।

प्राकृतिक विपत्तिले तड्पिएका नागरिकको सहयोगका लागि मेची-महाकालीका बुहारीहरूले देखाएको यो सहकार्य र मानवीय भावना यतिबेला चौतर्फी प्रशंसाको विषय बनेको छ।