झापाको बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–०१८ प ५७५४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्र१–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँ भागमा ठक्कर खाएको थियो। त्यसपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसी एफजेड मोटरसाइकलसँग ठोक्किएको थियो।
दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशीको दाहिने खुट्टा र हातमा चोट लागेको छ। उनको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। राजवंशीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बस चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठसहित बस र दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














