काठमाडौं ।  पवन ढकाल ,भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रकाशित सामग्रीको अनुगमन गर्दै प्रेस काउन्सिल नेपालले २१ वटा सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको जनाएको छ।

काउन्सिलले २०८३ भदौ १७ गते गरेको विशेष अनुगमनमा २४ वटा सामग्री परीक्षण गरेको थियो। तीमध्ये दर्ता भएका सञ्चारमाध्यमका १४ र दर्ता नभएका सामाजिक सञ्जालका १० सामग्री थिए।

अनुगमनका क्रममा २१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको र सम्बन्धित पक्षलाई तत्काल सामग्री स्थगन वा सम्पादन गर्न टेलिफोन, म्यासेन्जर तथा पत्रमार्फत निर्देशन एवं ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ।

 जनहितमा जारी

काउन्सिलका अनुसार दर्ता भएका ९ सञ्चारमाध्यम र दर्ता नभएका ९ सामाजिक सञ्जाल गरी १८ वटा माध्यमलाई ध्यानाकर्षण गराइएको छ।

अनुगमनमा Onlinekhabar को “सातौँ दिनमा सरकारले आयोजनाहरूलाई भन्यो– सुरुङबाट उद्धार गर्न सकेनौँ, आफै गर” शीर्षकको सामग्री पनि परेको छ। उक्त सामग्रीले अन्योल, भ्रम र त्रास फैलाउने किसिमको सन्देश प्रवाह गरेको भन्दै काउन्सिलले ध्यानाकर्षण गराएको जनाएको छ।

अनलाइनखबरले पछि शीर्षक सम्पादन गरे पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताले सम्पादन नगरिएको पुरानो ग्राफिक्स शेयर गरेको पाइएको काउन्सिलले उल्लेख गरेको छ।

विपद्का बेला सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीमा थप संवेदनशीलता र पत्रकार आचारसंहिताको पालना आवश्यक रहेको काउन्सिलको भनाइ छ।