बिर्तामोड, ३ असोज । संविधान दिवसको अवसरमा वीरता जेसिजले जेसीज सप्ताह–२०२६ अन्तर्गत “संविधानका कुरा” अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। बुद्धशान्ति–३, बुधबारे र बिर्तामोड–१ मा छुट्टाछुट्टै रूपमा आयोजना गरिएको कार्यक्रममा संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी दुई पूर्व संविधानसभा सदस्यलाई सम्मान गर्दै संविधान निर्माणका अनुभवबारे अन्तरक्रिया गरिएको हो।

वीरता जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य उपाध्यक्ष जेसी बिस्वजित हल्वाईले गर्नुभएको थियो।

कार्यक्रमका क्रममा दोस्रो संविधानसभाका सदस्य सरिता प्रसाईँ र मन कुमार गौतमलाई उहाँहरूकै निवासमा पुगेर सम्मान गरिएको थियो। संविधान निर्माणमा प्रत्यक्ष संलग्न व्यक्तित्वसँग युवापुस्तालाई जोड्ने र संविधान निर्माणको पृष्ठभूमि तथा त्यसबेलाका राजनीतिक घटनाक्रमबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

5555555

जनचेतनाका लागि जारी

बुद्धशान्ति–३ निवासी सरिता प्रसाईँले बाल्यकालदेखि नै राजनीतिमा सक्रिय हुँदै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको थियो। उहाँ दोस्रो संविधानसभामा समानुपातिकतर्फ सदस्य, नेपाल सरकारको पूर्व कृषि राज्यमन्त्री, राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक र २०७९ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा सार्वजनिक जिम्मेवारीमा रहनुभएको छ। संविधान निर्माण तथा लेखन प्रक्रियामा निर्वाह गर्नुभएको भूमिकाका लागि उहाँलाई सम्मान गरिएको हो।

त्यस्तै, बिर्तामोड–१ निवासी मन कुमार गौतमले नेपालको राजनीतिक तथा लोकतान्त्रिक आन्दोलनमा लामो समय सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। राजनीतिक संघर्षका क्रममा उहाँले नेपालका विभिन्न कारागारमा गरी १८ वर्ष जेल जीवन बिताउनुभएको थियो। तत्कालीन झापा आन्दोलन लगायतका राजनीतिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका गौतम दोस्रो संविधानसभाका सदस्यसमेत हुनुहुन्थ्यो।

अन्तरक्रियाका क्रममा संविधान निर्माणको राजनीतिक पृष्ठभूमि, संविधान लेखनका क्रममा देखिएका चुनौती, राजनीतिक दलहरूबीचको सहमति–असहमति, विदेशी चासो तथा प्रभाव, लोकतान्त्रिक आन्दोलनका अनुभव र नेपालको राजनीतिक परिवर्तनका विषयमा छलफल गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूले संविधान निर्माण सहज प्रक्रियाबाट सम्भव नभएको उल्लेख गर्दै त्यसका पछाडि लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सहमति र विभिन्न पक्षबीचको निरन्तर संवाद रहेको अनुभव सुनाउनुभएको थियो। संविधानको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुनेमा समेत जोड दिइएको थियो।

कार्यक्रममा संविधान निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने, संविधानका अधिकार र कर्तव्यबारे युवाहरूलाई जानकारी गराउनुपर्ने तथा संविधानप्रति नागरिक अपनत्व बढाउनुपर्ने विषयलाई प्रमुख सन्देशका रूपमा अघि सारिएको थियो।

88888888

कार्यक्रममा सम्मान–पत्र जेसी सुमन पोद्दारले वाचन गर्नुभएको थियो भने जेसीज आस्था उपाध्यक्ष जेसी नवराज अधिकारीले वाचन गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महासचिव जेसी सुवास तीखत्रीले गर्नुभएको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले संविधान निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मानसँगै उहाँहरूका अनुभव नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्दै लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार र कर्तव्यप्रति सचेत रहन युवापुस्तालाई आह्वान गर्नुभयो।

वीरता जेसिजले आगामी दिनमा पनि संविधान, लोकतन्त्र, नागरिक सचेतना र राष्ट्र निर्माणसँग सम्बन्धित विषयमा संवाद तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।