बिर्तामोड। झापाको बिर्तामोड–३ मा सञ्चालित लिंकन मन्टेश्वरी विद्यालयले विद्यार्थीहरूलाई नेपाली संस्कार, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यका साथ 'दशैं उत्सव' कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यता तथा बिर्तामोड नगरपालिकाका युवा तथा खेलकुद विकास शाखा अधिकृत लासाङ तामाङको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूले साना बालबालिकाहरूलाई टीका, जमरा, उपहार तथा दक्षिणा प्रदान गर्दै दशैंको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले बालबालिकाको मनोविज्ञान र सामाजिक सम्बन्धलाई सन्तुलित बनाउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताउनुभयो। विद्यालयका गतिविधिलाई संस्कार र पहिचानसँग जोड्नु प्रशंसनीय कदम भएको उल्लेख गर्दै उहाँले लिंकन मन्टेश्वरीले समय–समयमा आयोजना गर्ने व्यवहारिक कार्यक्रमको प्रशंसा गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि लासाङ तामाङले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका पहिलो र महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले अभिभावकहरूले समय–समयमा विद्यालय पुगेर आफ्ना छोराछोरीको सिकाइ प्रक्रिया, रुचि र अध्ययन अवस्थाबारे जानकारी लिनुपर्नेमा जोड दिनुभयो।
अग्रज सञ्चारकर्मी गोपाल काफ्लेले साना बालबालिकाले किताबी ज्ञानभन्दा दृश्य, चित्र र व्यावहारिक गतिविधिबाट छिटो सिक्ने उल्लेख गर्दै चाडपर्व र परम्परालाई शिक्षासँग जोड्ने मन्टेश्वरीको प्रयासको सराहना गर्नुभयो ।
त्यसैगरी, कार्यक्रमका अर्का विशिष्ट अतिथि इडन गार्डेन अंग्रेजी स्कुलका संस्थापक प्रिन्सिपल तथा एन प्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्यले लिंकन मन्टेश्वरीले बालमैत्री सिकाइमा ध्यान दिँदै नवीन पुस्तामा संस्कारको अभ्यास गराउनु सकारात्मक पक्ष भएको बताउनुभयो।
उत्सवका क्रममा नर्सरी कक्षाका साना विद्यार्थीहरूले दशैंसम्बन्धी गीतमा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। बालबालिकालाई नेपाली मौलिक संस्कार, चाडपर्वको महत्त्व र सांस्कृतिक परम्पराबारे प्रयोगात्मक रूपमा जानकारी दिने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा संस्कृतिप्रतिको रुचि र अपनत्व बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटा, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक सरोज पौडेलले गर्नुभएको थियो।














