बिर्तामोड, ३१ असोज : पूर्वेली ढुवानी सेवा प्रा.लि.ले असोज महिनाको ‘चालक अफ द मन्थ’ फिदिम नगरपालिका ३ पाँचथरका सविन श्रेष्ठलाई प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले चालक श्रेष्ठलाई यस महिनाको उत्कृष्ट चालक घोषणा गर्दै प्रशंसा पत्रसहित नगद ५ हजार १ सय रुपैयाँ प्रदान गर्नुभयो। चालकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पूर्वेलीले असोज महिनादेखि ‘चालक अफ द मन्थ’ कार्यक्रम सुरुवात गरेको हो।
चालकहरूको मनोबल बढाउन सुरु गरिएको यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने कम्पनीका अध्यक्ष खत्रीले जानकारी दिनुभयो।
चालक, सहचालकहरूले संस्थाको उन्नयनमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याङ्कनका आधारमा वार्षिकरुपमा सम्मान गर्ने व्यवस्था पनि लागू गरिएको कम्पनीले जनाएको छ ।
पूर्वेली ढुवानीले चालक, सहचालकहरूको हितलाई ध्यानमा राखेर आकस्मिक कोषको समेत व्यवस्था गरेको छ।
पूर्वेलीले गत असोज १ गते विश्वकर्मा पूजाको अवसरमा चालक तथा अग्रज व्यक्तित्वलाई सम्मान गरेको थियो। उत्कृष्ट चालकका रूपमा हिलिहाङ गाउँपालिका २ का नरेश मगरलाई ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।
सहचालकतर्फ हिलिहाङ गाउँपालिका २ का सुजन हेम्ब्यालाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।यसैगरी यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बिर्तामोड ५ का तेजप्रसाद कडरियालाई नगदसहित विशेष सम्मान गरिएको थियो।














