झापा, वैदिक सनातन परम्परा, धार्मिक आस्था, पारिवारिक संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ आत्मसात् गर्दै झापाको अर्जुनधारामा एक विशेष धार्मिक तथा सामाजिक वैवाहिक कार्य सम्पन्न भएको छ।
हिकोलाका संस्थापक तथा प्रबन्ध निर्देशक, साहित्य चौतारीका प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ र माता उर्मिला विमली श्रेष्ठका ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठ र आशा गुरुङ (श्रेष्ठ) बीच आपसी समझदारी र सहमतिमा स्थापित वैवाहिक सम्बन्ध विधिवत् संस्कारसहित सम्पन्न गरी नवदम्पतीलाई पुत्रवधूका रूपमा परिवारमा स्वागत गरिएको छ।
विवाहको मुख्य धार्मिक संस्कार अर्जुनधारा जलेश्वरधामस्थित शिवालय मन्दिरमा बिहानको निर्धारित शुभसाइतमा वैदिक तथा परम्परागत विधिअनुसार सम्पन्न गरिएको थियो।
वैदिक परम्परा अनुसार पूजाआजा, आरती, सिन्दूरदान, आशीर्वाद ग्रहण, उपहार प्रदान तथा मन्दिर परिक्रमा लगायतका संस्कारहरू पूरा गरिएका थिए। धामका मूल अर्चक अग्निप्रसाद सिग्देलको सल्लाह तथा कुलगुरु हेमन्त भण्डारी, वेद विद्यालयका प्राचार्य तथा आचार्यहरू, चिरञ्जीवी ढुङ्गाना लगायत उपस्थित पुजारी, भट्ट एवं सहयोगीहरूको सहभागिता र आशीर्वादले कार्यक्रमलाई धार्मिक तथा पारिवारिक गरिमा प्रदान गरेको थियो। गणेश, लक्ष्मीनारायण, हनुमान, शिव र पार्वतीका मन्दिरहरूको परिक्रमा तथा पूजापश्चात् नवदम्पतीले दुर्गा मन्दिर पुगी मन्दिरका अध्यक्ष कमल प्रधान, धाम परिवारका सदस्यहरू, विभिन्न समुदायका प्रतिनिधि तथा उपस्थित श्रद्धालुहरूबाट आशीर्वाद प्राप्त गरेका थिए।

विवाहको यो शुभ अवसरलाई स्मरणीय र सामाजिक हितमा समर्पित गर्ने उद्देश्यले श्रेष्ठ परिवारको तर्फबाट अर्जुनधारा जलेश्वरधामदेखि पूर्वतर्फ रहेको पुरानो दुर्गा मन्दिरको प्रवेशद्वारबाहिर सर्वसाधारणका लागि निःशुल्क पिउने पानीको धारा स्थापना गर्ने घोषणा गरिएको छ।
मन्दिर परिसरभित्र प्रवेश गर्न नसक्ने वा बाहिरबाटै पानी आवश्यक पर्ने यात्रु, भक्तजन तथा सर्वसाधारणले समेत सहज रूपमा पिउने पानी प्राप्त गर्न सकून् भन्ने मानवीय भावनाले यो कार्य अघि बढाइएको हो। यसका लागि आवश्यक स्थान निश्चित गरी धारा जडानको खर्च बेहोर्ने तथा पानीको नियमित महसुल भुक्तानीका लागि अक्षयकोषको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस शुभकार्यमा माता उर्मिला बिमली श्रेष्ठ, कनिष्ठ सुपुत्र गर्व श्रेष्ठ, मामाघर पक्षका नेत्र बिमली, सुशीला बिमली, मनोज श्रेष्ठ र लक्ष्मी श्रेष्ठ लगायतका आफन्तजनको सहभागिता रहेको थियो। साथै विवेक बराल र क्याप्टेन इन्द्र महराको सहयोग र उपस्थिति रहेको थियो।

संस्थागत रूपमा साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङ, कुमार कृष्ण श्रेष्ठ, कानुनी सल्लाहकार कृष्ण पौडेल, कोषाध्यक्ष भवानीप्रसाद गौतम र प्रेस सल्लाहकार भरत भावुक प्रसाईं लगायतका प्रतिनिधिहरूको उपस्थितिले पारिवारिक खुसीलाई संस्थागत आत्मीयतासँग जोडेको थियो।
अष्ट्रेलियाको सिड्नीबाट छोरीहरू मनीता श्रेष्ठ र स्वस्तिका श्रेष्ठ तथा अमेरिकाबाट करुणा श्रेष्ठ र वर्षा श्रेष्ठसमेत प्रविधिमार्फत जोडिएर विवाहका महत्त्वपूर्ण क्षणहरूमा सहभागी भएका थिए।
समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले विवाहको अर्थ ठूलो भीड, भव्य भोजभतेर र प्रदर्शनमा मात्र सीमित नभई एकअर्काप्रतिको सम्मान, विश्वास, पारदर्शिता, इमानदारी, जिम्मेवारी र सुखदुःखमा सहयात्रा गर्ने प्रतिबद्धतामा निहित रहने विचार व्यक्त गर्नुभयो। नवदम्पती गौरव र आशालाई पितृसुलभ सन्देश दिँदै उहाँले प्रेमलाई सम्मानमा, सम्मानलाई विश्वासमा र विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न, दायित्वप्रति सचेत रहन, आर्थिक व्यवहार पारदर्शी राख्न र मतभेदलाई संवादबाट समाधान गर्न आग्रह गर्नुभयो।
यसै शुभ अवसरमा श्रेष्ठले आफ्ना पितृदेवहरू, अग्रज अभिभावकहरू, कुलपरम्परा, कुलगुरु तथा आचार्यहरूप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै नवदम्पतीको सुस्वास्थ्य, दीर्घायु, आपसी प्रेम र निरन्तर उन्नतिको कामना गर्नुभएको छ। साथै, हिकोला, साहित्य चौतारी, मित्रमेला गुरुकुल सङ्गीत विद्यालय तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश लगायतका संस्थागत परिवार र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि इमानदारी, पारदर्शिता र मानवसेवाको मार्गमा अघि बढिरहने प्रतिबद्धता जनाउनुभएको छ।
सोही अवसरमा देवीभक्त श्रेष्ठले विजयादशमी, नवरात्र, दीपावली, छठ लगायतका सम्पूर्ण चाडपर्वहरूमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै पितृस्मरण र विश्वशान्तिको प्रार्थना गर्नुभएको छ। २०८२ सालको जेन्जी आन्दोलनदेखि त्यसपछिका घटनाक्रमसम्म भएका जनधनका क्षति, मानवीय पीडा र सामाजिक असहजताप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो र आगामी दिनमा कुनै पनि अभियान वा परिवर्तनको नाममा जनधनको क्षति नहोस् भन्ने कामना गर्नुभयो।
छोटो समयभित्र आकस्मिक रूपमा निर्णय गरी विवाह कार्य सम्पन्न गर्नुपरेकाले सम्पूर्ण आफन्त, इष्टमित्र, सहकर्मी तथा शुभचिन्तकहरूलाई पूर्वसूचना दिई औपचारिक निमन्त्रणा गर्न नसकिएकोमा श्रेष्ठले विनम्रतापूर्वक क्षमायाचना गर्नुभएको छ। निमन्त्रणा गर्न नसक्नु परिस्थितिजन्य बाध्यता भएकाले यस सार्वजनिक सन्देशमार्फत जानकारी लिई जहाँ हुनुहुन्छ त्यहीँबाट नवदम्पती गौरव श्रेष्ठ तथा आशा गुरुङ श्रेष्ठलाई स्नेह, शुभकामना र आशीर्वाद प्रदान गरिदिनुहुन उहाँले हार्दिक अनुरोध गर्नुभएको छ।














